विद्यालय सरस्वतीको मन्दिर हो जहाँबाट कलिला बालबालिकालाई ज्ञानको ज्योति प्रदान गरी भविष्यको लागि सक्षम जनशत्ति तयार गरिन्छ । सोही उद्देश्यले स्थापित यस जीवन ज्योति माध्यमिक विद्यालय कपुरकोट–५ रिम , सल्यानको पनि हरेका विद्यालयको जस्तै आफ्नै मौलिक पहिचान तथा ऐतिहासिक पृष्ठभूमि छ ।
 यस विद्यालयको इतिहासलाई फर्केर हेर्दा नेपालमा वि.स.२००७ सालमा प्रजातन्त्रको अभ्युदय भएको दुई वर्ष पछि वि.स. २००९ सालमा श्री त्रिभुवन पब्लिक प्राइमेरी स्कुल आठ हजार रिम , सल्यानको नामले स्थापना भएको पाइन्छ । त्यस समयमा यस विद्यालयलाई कक्षा १–३ सम्म सञ्चालन गर्न तत्कालीन सरकारबाट अनुमति दिएको कुरा विद्यालयको अभिलेखमा  भेटिन्छ । विद्यालय सञ्चालनको निम्ति स्थानको बारेमा मतभेद देखिएको छ । यहाँका वृद्घ अभिभावकको मत अनुसार साविकको रिम –२ अन्तरगत ¥याले भन्ने स्थानमा तत्कालिन समयको पौवा(हाल जीर्ण अवस्थामा रहेको) मा सञ्चालन भएको भन्ने केहिको भनाइ छ भने केहीको मत अनुसार साविकको रिम –२ अन्तर्गत सितल बजारको पूर्व दक्षिण छेउको बारीमा कुसुमले छाएको कटेरोमा सञ्चालन गरेको कुरा पुष्टि हुन आउँछ । केही समयपछि ठूलो गाउँ (रीम, ओखरपाटा, बरले, साउनेपानी, खजुरे आदि) यस विद्यालयको सेवा क्षेत्र भएको हनाले बीच भागमा पार्ने हेतुले हालको विद्यालय भवन रहेको स्थान ब्याहुली गैरामा सारिएको कुरा पुष्टि हुन आउँछ । 
 विद्यालय सामाजिक सम्पत्ति हो । यसर्थ विद्यालयको उन्नति र प्रगतिमा त्यस ठाउँको समुदायको महत्त्वपूर्ण भूमिका रहने कुरा सर्वस्वीकार्य हुन आउँछ । त्यसैले विद्यालयको उज्ज्वल भविष्यको लागि त्यस समुदायका सचेतवर्ग, शिक्षाप्रेमी, बुद्धिजीविको आवश्यकता खड्किन्छ । यस विद्यालयको स्थापना तथा अग्रगतिकालागि भएका कार्यहरुको प्रमाणहरु यथेष्ट रुपमा प्राप्त नभएतापनि विद्यालय अभिलेख तथा वयोवृद्घ व्यक्तिहरुको भनाइ अनुसार विद्यालय स्थापनार्थ पहल गर्ने व्यक्ति शिक्षाप्रेमी गेहेन्द्रबहाद्र शाह भएको र वहाँ नै प्रथम सञ्चालक समितिको सभापति र प्रथम शिक्षक लोमशबहादुर शाह भएको कुरा खुल्न आएको छ । यसरी यस विद्यालयमा वि.सं. २००९–२०२० सम्म कार्यरत शिक्षकहरु क्रमशः लोमशबहाद्र शाह, अमर भुप शाह, जनार्दन शर्मा, गणेश शर्मा, खड्कबहाद्र हमाल, नरनारायण शाह, चुकमान शाह रहनु भएको थाहा हुन आउँछ ।
 वि.स.२०२० सालतिर जिल अनुगमनमा खटिएका व्यक्तिहरुले यस विद्यालयमा शैक्षिक, प्रशासनिक, तथा भौतिक पक्षमा कमजोरी औल्याइ दिएका कारण कक्षा घटुवा हुने सम्भावना देखेपछि त्यसको पहलकदमी लिन तत्कालीन निमित्त प्रधानपञ्च तथा विद्यालय सञ्चालन समिति सदस्य स्व. श्री रोमहर्ष उपाध्यायको नेतृत्वमा स्व. वीरबहादुर पुन, स्व. कर्ण घर्ती जस्ता शिक्षाप्रेमी तथा समाजसेवी व्यक्तिहरु जिल्ला शिक्षा कार्यालय सल्यानमा पुगी शिक्षक दरवन्दी तथा कक्षा थपका लागि माग भएपछि अन्य शिक्षाप्रेमी तथा समाजसेवी रेवन्तबहादुर शाह, गेहेन्द्रबहादुर शाह र टेकबहाद्र बोहरा ज्यूहरुको सक्रियतामा वि.सं. २०२१ सालमा शिक्षा शाखा सल्यानबाट गुरुप्रसाद न्यौपाने र चित्रबहादुर योगीलाई शिक्षक नियुक्ति गरी यस विद्यालयमा पठाउनुको साथै कक्षा थप गरी कक्षा १–५बनाइएको पाइन्छ ।
 राष्ट्रमा शिक्षा क्षेत्रमा सुधारगर्ने मनसायले गठित राष्ट्रिय शिक्षा पद्घतिको योजना २०२८ लागु भएपछि सो ऐन नियमावली बमोजिम वि.स. २०३२ साल माघ २६ मा यस श्री त्रिभुवन पब्लिक प्राइमरी स्कुलको नाममा कक्षा १–३, २०३३ सालमा कक्षा १–४ र २०३४/११/२३ मा कक्षा १–५ सम्म सञ्चालन गर्ने स्वीकृति प्राप्त भएको कुरा विद्यालय अभिलेखमा उल्लेख छ । वि.सं.२०३६/११/१५ को शिक्षा शाखा सल्यानको प्राप्त पत्रानुसार यस विद्यालयको नाम श्री व्याहुली निम्न माध्यमिक विद्यालय आठहजार रिम, सल्यान रहने गरी कक्षा ६ सञ्चालन हुने र प्रत्येक वर्ष क्रमश कक्षा ७ र ८ सञ्चालनका लागि स्वीकृति प्राप्त  भएको देखिन्छ ।
 यस विद्यालयको नाम व्याहुली रहनुका आफ्नै मौलिक चिनारी छ । यहाँका बासिन्दाको प्राचीन कथन अनुसार हालको विद्यालय अवस्थित स्थानमा प्राचीन समयमा ठूलो दह थियो । एक दिन कुनै केटाले अर्काको श्रीमती जारी लगेर लुक्दै यस स्थानमा आइपुगे छन् । श्रीमती गुमाउने पुरानो पति पिछा गर्दै आउने क्रममा लुम्दै बास बस्न आएका नयाँ दुलाहा –दुलही भागने कोशिस गर्दा यसै दहमा हाम फालेर ढुङ्गामा परिणत भएको भन्ने भनाइ छ । यसरी व्याहुला–व्याहुली लोप भएको गहिरो दह भएकोले यस स्थानको नामाकरण व्याहुली गैरा भएको पुष्टि हुन्छ । कालान्तरमा उक्त दह खजुरेको लेकबाट निरन्तर रुपमा ढुङ्गा माटो खस्दा चौरमा परिणत भएको भन्ने भनाइ छ ।
हालपनि विद्यालयको पूर्व दक्षिण छेउमा दुईवटा व्याहुला–व्याहुलीका प्रतीक ढुंगा देख्न सकिन्छ । त्यस समयमा यस विद्यालयमा कार्यरत शिक्षकहरु निम्नानुसार रहेको विद्यालयको अभिलेखमा छ । हिरालाल बुढा, हरि प्रसाल ज्ञवाली, टेकबहादुर थापा, टोपबहादुर वली, श्यामकुष्ण शाह, दुर्गा प्रसाद लामिछाने, कृष्णबहाद्र के.सी.,महेन्द्रराज राजभण्डारी, खेमराज रिजाल, सेवकराम रेग्मी, डिल्लीबहादुर थापा र विश्वराज आचार्य ।
 वि.स.२०३९/४० सालतिर विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री यज्ञबहादुर शाहको नेतृत्वमा तत्कालीन रिम गाउँ पञ्चायका शिक्षाप्रेमी अभिभावक तथा जनताहरुको संयुक्त प्रयासमा माध्यमिक तह सञ्चालनका लागि विशेष पहल भएपछि वि.स. २०४०/ ०४/१५ को प्राप्त पत्रानुसार माध्यमिक तह सञ्चालन गर्ने र क्रमशः कक्षा थप गर्दै जाने स्वीकृति पाएको देखिन्छ । २०४२ सालमा विद्यालय सञ्चालक समितिको निर्णयानुसार व्याहुली साधारण मा.वि.को सट्टा उक्त विद्यालयको नाम जीवन ज्योति साधारण माध्यमिक विद्यालय रहन गएको देखिन्छ । यसरी माध्यमिक तह स्वीकृति भएपछि वि.सं.२०४६/०३/१५ को जि.शि.का. सल्यानको प्राप्त पत्र बमोजिम माध्यमिक तहका ४ वटा शिक्षक दरबन्दी र २०५० सालमा १ जना शिक्षक दरबन्दी थप गरी ५ जना शिक्षक दरबन्दी कायम भएको छ । यसरी हाल प्राथमिक तहमा ७, नि.मा.वि. तहमा ४ (१जना राहत र कृषि प्राविधिक समेत) र माध्यमिक तहमा ८ (कृषि प्राविधिक समेत) गरी जम्मा १९ जना साथै विद्यालयमा आम्दानी स्रोत पर्याप्त नभएता पनि निजि स्रोतमा आवश्यकता अनुसार निमावि तहमा २ जना प्रावि तहमा २ जना र १ जना कार्यालय सहयोगी गरि ५ जना नियुक्त गरि हाल यस विद्यालयमा जम्मा शिक्षक कर्मचारी संख्या २४ जना शिक्षक कर्मचारी हुनुहुन्छ । हाल यस विद्यालयमा कक्षा १–१२ सम्म पठन पाठन हुन्छ । 
विद्यालयको अवस्थिति
 श्री जीवन ज्योति माद्यमिक विद्यालय सल्यान जिल्ला स्थित साविकको रिम गा.वि.स. वडा नं. १ मा अवस्थित छ , साविकको रिम गा.वि.स.को मध्य भागमा वडा नं. १ , २ र ५ को सिमानामा जोडिएको स्थान सितल बजार नजिकै उत्तर पश्चिम दिशामा अवस्थित छ । यो गा.वि.स.को पूर्वमा रोल्पा जिल्लाको साविकको बुढागाउँ गा.वि.स., उत्तरमा सल्यान जिल्लाको साविकको सिन्वाङ गा.वि.स., पश्चिममा सल्यान जिल्लाकै साविकको त्रिवेणी गा.वि.स. र दक्षिणमा सल्यान जिल्लाकै साविकको धन्वाङ गा.वि.स. रहेका छन् ।
 सल्यान जिल्ला पहाडि जिल्ला भएकोले यस अन्तर्गत पर्ने साविकको रिम गा.वि.स. सल्यान जिल्लाको सुदुर पूर्वी तथा रोल्पा जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेको पहाडि गा.वि.स. हो । यसको भु–वनावट ज्यादै भिरालो भएकाले छात्रछात्राहरु भिरपाखा, कन्दरा तथा ठुला ठुलाा जङ्गल पार गरि यस विद्यालयमा अध्ययन गर्न आउँछन् । यसको सेवा क्षेत्र भित्र रहेका जनताहरु शिक्षाप्रेमी , केहि हदसम्म शैक्षिक चेतना भएका र समाजसेवी भएता पनि उर्वरभुमि ज्यादै न्युन भएका कारण आर्थिक रुपले ज्यादै पिछडिएका छन् । गाउँमा बेरोजगारी तथा गरीबी विद्यामान रहेकाले विचमै विद्यालय छाड्ने छात्रछात्राहरुको संख्याको बाहुल्यता छ ।
 सेवा क्षेत्र भित्र विभिन्न जातजाति ब्राहमण , क्षेत्री , ठकुरी , मतुवाला , मगर , कामी , दमाईहरुको वसोवास भएता पनि मतुवाला, कामी र मगर जातिको बाहुल्यता देखिन्छ । यस क्षेत्र भित्र करिब २ प्रतिशत मानिस नोकरी तथा व्यापारमा संलग्न भएता पनि ९८ प्रतिशत मानिसहरु कृषि पेशामा संलग्न छन् । केही मानिसहरु फुर्सदको समय निकाली भारतको चण्डीगढ, सिम्ला , नैनिताल जस्ता ठाउँमा पुगेर आर्थिक उपार्जन गरेको पाइन्छ ।
क. विद्यालयको स्थापना मिति, तह अस्थायी स्थायी स्वकृति 
अ. प्राथमिक तह २००९ श्री त्रिभुवन पब्लीक प्राइमरी पाठशाला आठ हजार रिम, सल्यान (अस्थायी स्वीकृति ) प्राप्त २०३२/१०/२६ सालमा स्थायी स्वीकृति प्राप्त ।
आ. नि.मा.वि तह स्वीकृति २०३६/११/१५ श्री ब्याउली नि.मा.वि आठ हजार रीम ।
इ. माद्यमिक तह स्वीकृति २०४०/०४/०२ श्री ब्याउली मा.वि आठ हजार रीम ।
ई. नामरुपान्तरण  २०४२ सालमा श्री जीवन ज्योति साधारण मावि रिम, सल्यान ।
उ. उच्च मा.वि सम्बन्धन  २०६५ साल मा श्री जीवन ज्योति उच्च मावि रिम ,सल्यान ।
 

Share:
Copyrights © jiwan jyoti ma vi rim | Design by:- Madan Khadka / Dayaram Budha |